पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर भएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्म भान्सा उम्काइसक्छिन्।
पोहर गजौटे खोलामा आएको बाढीले रातको १० बजेको समयमा भागाभाग भएपछि उनको परिवारले दुईतीन दिनसम्म बिस्कुट र पानीको भरमा दैनिकी गुजारेको थियो।
‘रातको दश बजेको थियो। खाना पस्केर खाने तयारी भइरहेको थियो। माथिबाट बाढी आयो रे भाग्नुपर्यो भन्ने खबर सुनिसक्दा त घरको वरिपरि तीन तीरबाट भलले छोपिसकेको। जसोतसो यहाँबाट भागेर तल कृष्ण जेठाबाका घरमा पुगियो’, उनले भनिन्, ‘रातको वेला छ, पानी परेको छ, पस्किएको खाना छोडेर भाग्यौँ। भोकले होला बाबुहरू बेस्सरी रोए। जेठाबाले एकएक वटा बिस्कुट र चाउचाउ दिएर रात कटायौँ। त्यो पल जस्तो गाह्रो वेला जीवनमा आएको थिएन।’
बाढीबाट बच्न पाकेको भात छोडेर भाग्नुपरेको हो भन्ने थाहा नभएका छोराछोरीले भोकले भात माग्दा पीडा भएको शर्मिलाले सुनाइन्। त्यसैले त उनले अब साँझमा नै भान्सा उम्काउन थालेकी छिन्। मौसम सफा रहँदाको दिनमा समस्या नभए पनि आकाशमा बादल देखिएर वर्षाको सम्भावना भएमा भाग्ने पूर्व तयारीका लागि समयमै खाना खाएर तयारी अवस्थामा रहनुपर्ने बाध्यता छ।
शर्मिलाले भोगेको पोहरकै जस्तो अवस्था यो वर्ष नआउला भन्न सकिँदैन। मौसमविद्हरूले ग पोहरको तुलनामा यो बर्खामा बढी वर्षा हुने पूर्वानुमान गरेका छन्। सामान्य वर्षा भएकै वेला गेगर सहितको बाढी आउने गरेको गजौटे खोला आक्रामक बन्न बेर लाग्दैन।
पोहर भाग्ने क्रममा ११ वर्षीय दृष्टिविहीन मनिलको गोडा भाँचियो। भेलले भेटाउनै लागेका वेला मनिलाई पिठ्यूँमा राखेर भाग्दा लडेर गोडा भाँचिएको कथा स्थानीय वसन्ती परियार सुनाउँछिन्। अन्यत्र जग्गा नभएकाले जोखिम मोलेरै भए पनि बस्तीमै बस्नुपरेको उनको भनाइ छ। ‘न भोकमा खान पाइएको छ, न रातमा निदाउन पाइएको छ। खानै पाइँदैन, थालै लिएर कति पटक भागिएको छ’, उनले भनिन्, ‘ओढ्ने ओछ्याउने समेत कोठाबाट निकाल्न पाइँदैन।’
स्थानीय विजय परियारको पनि गुनासो उही हो। हरेक वर्षको बाढीमा नेताहरू घटनास्थल पुगेर फोटा खिचे पनि बस्तीको जोखिम टार्न सरकारले कुनै सुनुवाइ गरेको छैन। आकाशमा बादल देखिएर पानीका थोपा पर्न थालेपछि बेस्सरी डर लाग्ने गरेको भन्दै उनले कति वेला कता भाग्न पर्ने हो? भनेर खोल्सो हरेर बस्ने गरेको सुनाए।
‘थाहै नपाई बाढी आएर टोल नै सोतर पार्ने हो कि भन्ने चिन्ताले निद लाग्छ र? के को खान मन लाउने हो? घरमा केटाकेटी छाडेर मजुरीमा कसरी जाने हो?’, उनले भने, ‘यहाँको बाढी तल बजारसम्म नै पुग्छ। खाँदा खाँदैको भात छोडेर केटाकेटी काखमा च्यापेर कति पटक भागियो भागियो। यहाँ कति गाह्रो हुन्छ भन्ने कुरा बोलेर बताउनै सकिन्न।’
उक्त खोल्साको बाढी नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आइरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय आफै कति वेला पुरिने हो ठेगान छैन। गजौटे खोलामा आउने बाढीले पोहर साल पुष्पलाल मध्यपहाडी लोक मार्गसम्म आइपुगेर सडक अवरुद्ध गर्यो। कुश्माको जिरो किलोमिटरमा सडकभन्दा तल्लो क्षेत्रमा रहेका घरभित्रै ढुङ्गा र माटोका गेग्र्यान पसे।
त्यही आसपासको क्षेत्रमा जनप्रतिनिधिदेखि केन्द्रीय पहुँचका नेताहरूका घर छन्। तैपनि बाढीलाई सुरक्षित अवतरण गराउने विकल्प नभेटिँदा समस्या जस्ताको तस्तै छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको कुश्मा–दुर्लुङ सडकदेखिको भेल एकोहोरिएर गजौटे खोलामा आउने गरेको छ।
वर्षौ अगाडिसम्म सुरक्षित रहेका बस्तीहरू अवैज्ञानिक तरिकाले खनिएका ग्रामीण सडकका कारण जोखिममा पर्दै गएका छन्। सडकको भल व्यवस्थापनको पूर्व तयारी नगरी सडक खन्ने तथा छिरलिएर जानुपर्ने भल एकत्रित भएर बग्ने ठाउँ सडककै कारण बन्दा समस्या भएको सरोकारवालाहरू बताउँछन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया