काठमाडौँ : काठमाडौँ महानगरका उपप्रमुखसहित ४० जना कार्यपालिका सदस्यहरूले हिजो(सोमबार)प्रमुख बालेन साहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।
महानगरका प्रमुख शाहले पाँच महिनादेखि कार्यपालिका बैठक नबोलाएपछि वडाध्यक्षहरूले बैठकका लागि सातदिने समयसीमा दिएका हुन्।
मागपत्रमा गत वर्षको पुस १४ गतेदेखि हालसम्म नगरकार्यपालिका बैठक बस्न नसकेको उल्लेख छ। प्रमुख शाहलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठक गत वर्षको पुस १४ गतेदेखि हालसम्म बस्न नसकेको हुनाले गत २०८१।१२।१० गते २३ जना नगर कार्यपालिका सदस्यहरूबाट बैठक माग गरी पत्राचार भएकोमा पुन: दोस्रोपटक ७ दिनभित्र बैठक बोलाउन कार्यपालिका सदस्यहरू जोडदार माग गर्दछौँ।’
उक्त मागपत्रमा पहिलो नम्बरमा उपप्रमुख सुनिता डंगोलको हस्ताक्षर छ। त्यसपछि महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का वडाध्यक्ष नवीन मानन्धरको हस्ताक्षर छ। नवराज पराजुली, ईश्वरमान डंगोल, भरतलाल श्रेष्ठ लगायत ४० जना नगर कार्यपालिका सदस्यहरूले हस्ताक्षर गर्दै बैठक माग गरेका छन्।
पहिला महानगरमा हरेक महिना एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्नेछ’ भन्ने उल्लेख छ। कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ।
तर लामो समयसम्म पनि प्रमुख साहले बैठक नबोलाएपछि महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का वडाध्यक्ष मानन्धरसहित १८ जना वडाध्यक्षले गत चैत १० गते कार्यपालिकाको बैठक माग गर्दै प्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए तर शाहले बैठक राखेनन्।
यसरी महानगरपालिका भद्रगोल अवस्थामा पुग्नुको प्रमुख कारण भने काठमाडौँ भ्यूटावर विवाद हो। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।
तर उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्यो। त्यसयता गुरागाईं निलम्बनमा परे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले त्रूटिपूर्ण कार्य गरेको दाबीसहित ठाडै अस्वीकार गरे। सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा र बालेनले गुरागाईंलाई जिम्मेवारी नदिँदा करिब पाँच महिनासम्म तलब कर्मचारी शिक्षकहरूले पाएनन्।
त्यसपछि प्रमुख बालेनविरुद्ध उपप्रमुख डंगोल आक्रामक बन्दै गइन्। त्यतिमात्रै होइन चैत २० गते वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराए। हालका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई मान्ने पक्षमा प्रमुख शाह छैनन्।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराउने वेला महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले असहयोग गरेको भन्दै गुरागाईंले उनलाई ७ बुँदे स्पष्टीकरण सोधेँ। नगर प्रहरीप्रमुख पाण्डेले सोधिएको उक्त स्पष्टीकरणको जवाफ गुरागाईंलाई बुझाइसकेका छन्।
अन्योलमा नीति तथा कार्यक्रम र बजेट
प्रमुख साह र उपप्रमुख डंगोलको लय नमिल्दाको प्रत्यक्ष असर भने महानगरको प्रशासनिक, नीतिगत निर्णय, कार्यपालिका बैठक लगायत कार्यमा परेको छ।
प्रमुख साह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकै आन्तरिक द्वन्द्वका कारण आव २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट पनि अन्योलमा परेको देखिन्छ।
त्यही कारण पटक-पटक बैठक बोलाउन प्रमुख साहसँग माग गर्दै आएको महानगरपालिका वडा-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए। महानगरको मूल नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्ने उनको माग छ।
अब के गर्लान् प्रमुख बालेन ?
पटक-पटक वडाध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन माग गरेपछि प्रमुख बालेन साह संकटमा परेका छन्। कानुनी प्रावधान मान्नुपर्ने हुँदा पनि प्रमुख बालेनले बैठक बोलाउनुपर्ने जिम्मेवारी छ।
उक्त सातदिने अल्टिमेटमपछि अब बालेन के गर्लान् भन्ने आम चासो पनि बढेको छ। यस विषयमा बुझ्नका लागि महानगरपालिका प्रमुख शाहको स्वकीय सचिव भूपदेव शाहलाई पटक-पटक सम्पर्क गर्दा पनि फोन उठाएनन्।
बैठक बोलाउने वा नबोलाउने भन्ने विषयमा केही जानकारी नभएको प्रमुखको सचिवालयले जानकारी दियो। सचिवालयका एक कर्मचारीले भने, ‘बैठकको विषयमा मेयरले केही भन्नुभएको छैन, यस विषयमा केही पनि हामीलाई जानकारी छैन।’थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया