सुजता लिम्बू
विराटनगर : परम्परा र जात व्यवस्थाको गहिरो जरा गाडिएको छ, त्यहीँ ती परम्परालाई चुनौती दिँदै अघि बढिरहेका छन् केही महिला।
विराटनगर–४ की भीमा पोखरेलको नेतृत्वमा रहेको ‘नमुना नौमती महिला पञ्चेबाजा समूह’का महिलाहरू विगतमा जातसँग जोडिएको परम्परागत बाजा विभिन्न शुभ कार्यमा बजाउँदै आएका छन्।
प्रायः दलित समुदायले मात्र बजाउने मानिने पञ्चेबाजालाई अहिले महिलाहरूले समातेर नयाँ इतिहास कोर्दै छन्।
भीमा पोखरेल भन्छिन्, “प्रविधिको विकाससँगै लोप हुँदै गइरहेको नेपाली सांस्कृतिक बाजालाई जगेर्ना गर्नुपर्छ भन्ने सोच आयो। अनि त्यसैबाट बाजा सिक्ने इच्छा जाग्यो।” जातीय छुवाछूतविरुद्धको सन्देश दिनु पनि यसको अर्को उद्देश्य भएको उनी बताउँछिन्।
सुरुवात सहज थिएन। तालिमको प्रस्ताव महानगरपालिकामा दिँदा महानगरकी कर्मचारी अनिताले सहयोग त गरिन् तर तालिम लिने महिला पाउन निकै कठिन भयो। “घरघर गए, सम्झाउँदै केहीलाई मनाउन सकेँ”, भीमा सम्झन्छिन्, “शुरुमा ६ जना मात्रै भए। पछि इच्छुक बढ्दै गए अनि तालिम सुरु भयो।”
महानगरबाट तालिम लिएपछि उनीहरू मोरङ, झापा, उदयपुरलगायत जिल्लामा विवाह, पूजापाठ जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउन जान्छन्। आम्दानी पनि मासिक २५ हजारदेखि ४५ हजारसम्म हुने गरेको भीमा बताउँछिन्।
५२ वर्षीया भीमा पोखरेलको जीवनको लय बदलिएको छ। कहिले नबजाएको पञ्चे बाजा परिवारको साथ पाएपछि बाजा बजाउन थालिन्।
आफ्नो समूहको टीम सहित शुक्रबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बाजा बजाउन पाउँदा गौरवको क्षण रहेको बताइन्।
त्यही समूहकी अर्की सदस्य उमादेवी ठकुरी सुरुमा बाजा छुन पनि डराउँथिन्। “दलितले बजाउने बाजा भनेर डर लाग्थ्यो”‚ उनी भन्छिन्, “तर त्यो सोच त हामीले नै बनाएको रहेछ। अहिले यही कामबाट आत्मसन्तुष्टि पनि मिलेको छ अनि घरखर्च पनि चलेको छ।”
सपना ठकुरी पनि सुरुमा दोधारमा थिइन् – सिक्ने कि नसिक्ने? तर सिक्दै जाँदा बाजासँगै आत्मविश्वास र आत्मनिर्भरता पनि बढेको उनी बताउँछिन्।
यी महिलाहरूको प्रयासले संस्कृतिलाई आर्थिक र सामाजिक सशक्तिकरणसँग जोड्ने नयाँ अभ्यासको थालनी गरेको सरोकारवालाहरू बताउँछन्। जात र लिङ्गको सीमामा बाँधिएको सांस्कृतिक अभ्यासमा अब समावेशिता र समान अवसरको सम्भावना देखिन थालेको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया