सरस्वती अधिकारी
काठमाडौँ : नेपालमा यो हप्तामा देशभर मनसुन फैलने पूर्वानुमान गरिएको छ। मनसुन फैलिएसँगै धेरै ठाउँमा भारी वर्षा हुनसक्छ। जल तथा मौसम विज्ञान विभागले यो वर्ष मनसुनमा देशका अधिकांश ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिसकेको छ।
योसँगै भारी वर्षा, बाढी, पहिरो, डुबान, जमिन कटान, आकस्मिक बाढी जस्ता विपद्को जोखिम विगतको तुलनामा अत्यधिक हुने अनुमान गरिएको छ। यो वर्ष (२०८२) मनसुनजन्य विपद्बाट देशभरका झण्डै १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित बन्ने आँकलन गर्दै सरकारले क्षति न्यूनीकरणको उद्देश्यसहित कार्ययोजना बनाएको छ।
विपद् पूर्व तयारी : प्रतिकार्यका लागि जनशक्ति
सरदरभन्दा बढी वर्षा हुने अनुमानपछि विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्यको अवधिभर समग्र नेतृत्व र समन्वय गर्दै प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गर्नेछ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयन गर्न सबै स्थानीय तह लगायत सम्बन्धित निकायलाई परिपत्र गरेको र सबै सम्बन्धित पक्ष, सुरक्षानिकाय तयारी अवस्थामा रहेको प्राधिकरणका उपसचिव एवं प्रवक्ता रामबहादुर केसी बताउँछन्।
‘मनसुनजन्य विपद्का लागि डेडिकेटेड खटिएको जनशक्तिमा नेपाली सेना, नेपाल प्रहरीबाट १० हजार ८५ जना, सशस्त्र प्रहरी बलबाट ७ हजार ६१५ जना स्ट्यान्डबाई छ, सेनाको पनि छन्’, उनले भने‚ ‘उहाँहरू आ–आफ्नो ठाउँमा तयारी अवस्थामा तैनाथ हुनुहुन्छ, यसका साथै नगर प्रहरी पनि परिचालन हुनेछन्।’
प्रतिकार्यमा आ-आफ्ना जिम्मेवारी
विपद्मा बन्दोबस्तको नेतृत्व गर्ने गृहमन्त्रालयले सुरक्षानिकायका खोज तथा उद्धार टोली, आवश्यक साधन स्रोतको पूर्व तैनाथीका साथै प्रतिकार्यका वेला तिनको परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
रक्षा मन्त्रालयले नेपाली सेनालाई स्रोत साधनसहित तयारी अवस्थामा राखेको र आवश्यकताअनुसार परिचालन गर्ने जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यका लागि आवश्यक औजार उपकरण तथा दक्ष जनशक्तिसहित तयारी अवस्थामा रहनुपर्नेछ भने केन्द्र, प्रदेश तथा जिल्लामा स्थापना गरिन प्रतिकार्य कमाण्ड पोस्टमा आवश्यक संख्यामा प्रतिनिधि खटाउने, खोज उद्धार तथा राहत वितरणमा सहयोग र सुरक्षा व्यवस्था एवं आवश्यकता अनुसार टोली परिचालन गर्नुपर्नेछ।
सेनाले हवाई साधन तयारी अवस्थामा राख्ने, प्रहरीले विपदका घटना सम्बन्धी सूचना प्रवाह तथा तत्काल गरिने लेखाजोखा र सशस्त्रले स्थानीयस्तरमा पूर्व सूचना र विपद्का घटना सम्बन्धी सूचना प्रवाहमा पनि सहयोग पुर्याउनेछ। सेनाले देशका ७७ वटै जिल्लामा तैनाथ गणहरूबाट गुल्म तथा अनाश्रित गुल्मबाट एक से.मु. स्ट्यान्डबाई फौज आधारभूत उद्धार सामग्रीसहित परिचालन गर्न तयार गरिराखेको छ।
विपद्को समयमा प्रतिकार्यका लागि सेनाले आवश्यक जनशक्ति, उपकरण तथा औषधिसहित तयारी हालतमा राख्ने व्यवस्था मिलाएको छ। आठवटै पृतनाहरूमा बाह्रै महिना रहने गरी खोज तथा उद्धार टोलीसँगै रबर बोट, ओबिएम तथा आवश्यक सामग्री पूर्व तैनाथ गरिराखेको जनाइएको छ। सेनाले कम्पोजिट क्विक रियाक्सन टिम (सि क्यू आर टी) लाई १५ मिनेटभित्र हवाई साधनद्वारा परिचालन गर्नसक्ने गरी गोचर ब्यारेक काठमाडौँमा तयारी हालतमा राखेको छ।
यस्तैगरी नेपाल प्रहरीले विपद् प्रतिकार्य योजनानुसार केन्द्रमा खोज तथा उद्धार प्रतिकार्यका लागि तत्काल खट्ने गरी सि.प्र.अ.को कमान्डमा दैनिक २५ जनाको क्यू आर टी टोली तयारी अवस्थामा राखी आवश्यकतानुसार थप जनशक्ति परिचालन गर्नेछ।
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा रहेका डुंगा चलाउन जान्ने १७ जना, तालिम प्राप्त ५ जना र पौडिन जान्ने ४० जना गरी ६२ जनालाई उद्धार सामग्री सहित तत्काल परिचालन गर्ने गरी तयार पारिएको छ। प्रहरीले मनसुनजन्य उद्धारका लागि कम्तीमा १० जनाको टोली सम्भव भएसम्म स्याफ्ट बोट, मोटर बोटसहित अभ्यस्त बनाई राख्नेछ।
सशस्त्र प्रहरी बलका १२८ जना तालिमप्राप्त गोतखोरलाई १० स्थानमा आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ भने विभिन्न युनिटमा रहेका १३ वटा हेभी इक्यूपमेन्ट राखिएको छ।
देशभरका सबै वडामा असार मसान्तभित्र सशस्त्रले हरेक वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५७५ विपद् सूचक समूह तयार पार्ने कार्य गरिरहेको छ भने ७४३ पालिकामा १४७ तालिम सञ्चालन गरी ३ हजार ६७५ जना विपद् स्वयंसेवक तयार गर्ने योजना बनाइएको छ। विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा ३ हजारभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीले विशिष्टीकृत तालिम प्राप्त गरेका छन् भने काठमाडौंका दुई ठाउँसहित ७ वटै प्रदेशमा दक्ष तालिम प्राप्त जनशक्तिलाई खोज तथा उद्धारका आवश्यक उपकरणसहित परिचालन गरिएको छ।
आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले पनि सूचना व्यवस्थापनदेखि गोदामघर सञ्चालन तथा मानवीय सहायता परिचालनका लागि समन्वय र सहजीकरणको भूमिका निभाउनेछन्। केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमान्ड पोस्टले प्रतिकार्यका लागि जिम्मेवार निकायलाई निर्देशन दिने लगायतका जिम्मेवारी वहन गर्नेछ। यस्तैगरी नेपाल रेडक्रस सोसाइटीले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्तिहरूलाई पूर्वजानकारी तथा तयारी सूचना सम्प्रेषण गर्नेछ।
यस्तैगरी विपद् प्रतिकार्यका लागि आवश्यक खाद्य तथा गैरखाद्य राहत सामग्री व्यवस्थापनका साथसाथै ढुवानीको कार्यको समेत नेतृत्व गर्ने, विपद् प्रतिकार्यका वेला हवाई साधनको व्यवस्थापन गृहले गर्नुपर्नेछ।
नेपालमा मनसुन
हिन्द महासागरमा उत्पन्न भई बङ्गालको खाडी हुँदै नेपालमा जेठको अन्त्यतिर भित्रिने मनसुनी प्रक्रिया क्रमशः देशभर फैलिएर चार महिना सक्रिय रही असोजको अन्त्यतिर बाहिरिन्छ। सामान्यतः करिब ११० दिन सक्रिय रहने भए पनि पछिल्ला वर्षहरूमा एकदुई हप्ता ढिला गरी मनसुन बाहिरिने गरेको मौसमविद्हरु बताउँछन्।
सबैभन्दा बढी विपद्का घटना र हानि नोक्सानी तथा क्षति मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ। तथापि केही वर्षयताको ट्रेन्ड हेर्दा मनसुनको सुरुवाती चरणमै अत्यधिक वर्षा भएको देखिन्छ।
मौसमविद्का अनुसार वार्षिक वर्षाको झण्डै ८० प्रतिशत मनसुनको अवधिमा हुने गरेको छ। यही समयमा बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता जल उत्पन्न प्रकोपका घटना भई ठूलो जनधनको क्षति हुन्छ।
मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार जेठ १८–असार १६ को बीचमा सरदरभन्दा बढी र असार १७–साउन १५ तथा साउन १६–भदौ १५ मा कम वर्षा हुने सम्भावना छ।
गत वर्षको मनसुनको अवधिमा देशभर कुल १,६९१.३ मिलिमिटर वर्षा हुँदा बाढी, पहिरो जस्ता विपद्मा परी ४९५ जनाले ज्यान गुमाएका थिए। अन्य ६६ जना बेपत्ता हुनुका साथै १० हजार ८,२३ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया