पर्वत : गण्डकी प्रदेशमा बर्खे धान लगाइने क्षेत्रफल क्रमशः घट्दै गएको छ।
कृषि निर्देशनालय गण्डकी प्रदेशका अनुसार आर्थिक वर्ष २०७९÷८० मा प्रदेशका नौ जिल्लामा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो। यो वर्ष कुल ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान लगाइने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७१६ हेक्टर कम क्षेत्रफलमा धान लगाइएको थियो। उक्त वर्ष ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउँदा यस वर्ष भने पोहोरको तुलनामा तीन हजार ५८७ हेक्टर कम क्षेत्रफलमा रोपाई हुन सक्ने अनुमान गरिएको छ।
२०८० सालको तुलनामा ०८१ सालमा करिब १.८ प्रतिशत कम क्षेत्रफलमा रोपाई भएको हो भने यो वर्ष भदौसम्म रोपाई हुँदा पोहोरका तुलनामा १।९५ प्रतिशतले कम रोपाई हुन सक्ने प्रक्षेपण निर्देशनालयले गरेको छ। ११ जिल्ला रहेको गण्डकीका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा मात्रै धान खेती हुने गरेको छ।
गोरखामा ५५ हजार छ सय ९६ हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार एक सय ४० मा, लमजुङको ६१ हजार आठ सय १९ हेक्टरमध्ये नौ हजार २९९ मा, तनहुँमा ६५ हजार ६१ हेक्टरमध्ये आठ हजार ७२० मा, कास्कीमा ६८ हजार ९६७ हेक्टरमध्ये १६ हजार ६२० मा, पर्वतमा २८ हजार ५९२ हेक्टरमध्ये सात हजार एक सय ८० मा यस बर्खामा रोपाई हुने अनुमान छ।
यस्तै स्याङ्जामा ७२ हजार ७३१ हेक्टरमध्ये १४ हजार ३९० मा, म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टरमध्ये तीन हजार ८०६ मा, बागलुङमा ४६ हजार १४८ हेक्टरमध्ये पाँच हजार ७०७ मा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४९ हजार सात सय ४७ हेक्टरमध्ये १८ हजार ७२० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सक्ने निर्देशनालयको अनुमान छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले भने पोहोर र परारको तुलनामा केही क्षेत्रफल घटन सक्ने अनुमान भएको भए पनि कम नै रोपाइ हुन्छ भन्ने यकिन नभएको बताए। पैसाको उपलब्धता, आयातमा भएको निर्भरता, मानिसमा बढ्दै गएको अल्छीपना, बसाइसराइ, वन्यजन्तुको प्रकोप, मौसमको असामान्य अवस्था, लगायतका कारण धान लगाइने क्षेत्रफल घट्दै गएको हुन सक्ने अनुमान गरिएको बताउँछन्।
‘सबैलाई बजारमा आएर बस्नुपरेको छ। आन्तरिक बसाइसराइले गाउँहरू रित्तिएर काम गर्ने मान्छे नै छैनन्। पैसा भएर किनेर खाएपछि किन पो काम गर्ने हो भन्ने मानसिकताको विकास भइरहेको छ’ रेग्मी भन्छन्, ‘उता इन्डिया गएर किने झनै सस्तो आउने, यताको हिसाब गर्ने हो भने लगानी पनि नउठ्ने अवस्था छ। कोही बाँदर लागेर हैरान छन्, कोहीलाई बँदेलले उठीबास लाएको छ। हाम्रा हजुरबाका पालामा जस्तो दुःख गर्ने अभ्यास हराउँदै गइरहेको छ।’
कृषिप्रधान देशकै मानिसहरू माटोमा खेल्न डराउन थालेपछि त्यसको परिणाम भनेको उत्पादनयोग्य भूमि बाँझो छाडिने उनको भनाइ छ। पछिल्ला समयमा भइरहेको प्रविधिको विकास तथा आम्दानीका विभिन्न स्रोतका कारण पनि मानिसहरू कृषि पेशामाथिको निर्भरताबाट टाढिँदै गएकाले पनि हरेक वर्ष खेती लगाउने क्रम घट्दै गइरहेको सचिव रेग्मीले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया