Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोभिड १९ महामारीको अन्त्य कहिलेसम्म हुन्छ !

लकडाउनका बेला घरमा थुनिएर बस्नुपर्दा धेरैलाई लागेको थियो, कोभिड १९ नामक महामारीको अन्त्य चाँडै हुनेछ । लकडाउन खुल्दा स्कुल खुल्ने छन्, गाडी चल्नेछन्, मानिसको आवत जावत सहज हुनेछ । केही महिनापछि काम, कमाइ, व्यापार, व्यवसाय पहिलेकै गतिमा फर्किनेछ भन्ने सोचेर धेरैले लकडाउनको समयलाई चाडबाडका रुपमा प्रयोग गरे ।   

लकडाउनको अन्त्यसँगै पसल खुले तर ग्राहक आएनन् । अहिले बस चलेका छन् तर यात्रु छैनन् । महामारी नरोकिएका कारण स्कुल खुल्ने कुरै भएन, केटाकेटी घरमै बस्न बाध्य छन् । लकडाउन खुकुलो हुँदै जाँदा अहिले महामारी पनि फैलिँदै गएको छ । 

कोभिड महामारी कहिले अन्त्य होला र जिन्दगी पुरानै लयमा फर्किएला भन्ने चिन्ताले अहिले धेरैलाई सताएको छ । आम नागरिक झैँ स्वास्थ सेवा दिने व्यक्ति र संस्था, अनुसन्धानकर्ता र संसारभरिकै सरकार पनि महामारीको अन्त्य कसरी चाँडै अन्त्य हुन्छ भन्ने चिन्तनमा छन् । तर अहिलेसम्मको इतिहासले हामीलाई भन्छ कुनै पनि महामारीको अन्त्य सजिलोसित भएको छैन । 

महामारीको इतिहासका अध्येताहरु अहिलेसम्म संसारका सबै महामारी दुई तरिकाले मात्र समाप्त भएका उदाहरणहरु दिन्छन् । अहिलेसम्मका धेरै महामारीको अन्त्य मानिसको मनको डरको अन्त्यसँगै भएको छ भने एउटा महामारीको अन्त्य चाहिँ औषधिबाट भएको छ । 

औषधिले उन्मूलन भएको एकमात्र महामारी बिफर 

संसारमा फैलेका अनेक महामारीमध्ये एउटा मात्र महामारी खोप वा औषधिबाट अन्त्य भएको छ । औषधिले अन्त्य गरेको एउटा मात्र महामारी हो बिफरको महामारी । संसारबाट सधैँका लागि सन् १९७७ मा अन्त्य भएको बिफरको महामारीले यो संसारमा तीन हजार वर्षसम्म राज गर्‍यो । बिफर लागेर मरेका मानिसको सङ्ख्या इतिहासले पनि रेकर्ड राख्न सकेको छैन । नेपालमै पनि बिफर लागेर एक जना राजा, रानी र युवराजको मृत्यु भएको कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । बिफर आजभन्दा ५० वर्षअघि सम्म पनि डरलाग्दो महामारी थियो, जुन केही वर्ष बिराएर आइरहन्थ्यो । बिफर लागेका १० जनामा तीन जनाको ज्यान जान्थ्यो, बाँचेकाहरुले छालामा कहिल्यै नमेटिने विरुप दागहरु बोकेर बाँच्नु पर्‍यो । आज पनि हामी बिफरको महामारीबाट बचेका मानिस भेट्छौँ । 

सन् १९७७ मा संसारबाट बिफरलाई सधैँका लागि बिदाइ गर्ने अन्तिम बिरामी थिए, अफ्रिकाको सोमालियाका अलि माव मालिन । मालिनपछि आजसम्म कसैलाई बिफर लागेको छैन । सन् १९७७ मा बिफरबाट निको भएका मालिनको सन् २०१३ अथवा आजभन्दा सात वर्षअघि कुनै बेला चलेको अर्को महामारी औलो अथवा मलेरिया लागेर मृत्यु भएको थियो । 

महामारीको अन्त्य मानिसको मन डराउन छाडेपछि मात्र हुन्छ  

बिफरपछि मानव सभ्यतालाई अति नै तर्साएको र सताएको अर्को महामारी हो प्लेग । कहिले प्लेग र कहिले ब्ल्याक डेथ नाम पाएको यस महामारीले संसारलाई दुई हजार वर्षसम्म आतङ्कित पार्‍यो । मानिसलाई दुई हजार वर्षसम्म आतङ्कित बनाएको प्लेगले इसा पूर्व र छैठौँ शताब्दीमा कतिको ज्यान लियो भन्ने स्पष्ट इतिहास पनि भेटिँदैन । तर चौधौँ तथा उन्नाइसौँ शताब्दीमा चलेको प्लेगको महामारीले करोडौँ मानिसको ज्यान लियो । महामारीको इतिहासका अध्येताहरु भन्छन्– सन् १३३१ मा चीनमा सुरु भएको यो महामारीमा परेर चीनको आधा जनसङ्ख्या कालको मुखमा पुग्यो । 

त्यसको १५ वर्षपछि सिल्क रोडको व्यापारिक बाटो भएर व्यापारीहरुसँगै प्लेगको महामारी युरोप, अफ्रिका र मध्यपूर्वका देशहरुमा पुग्यो र फैलियो । सन् १३४७ देखि ५१ सम्मका चार वर्षमा प्लेगले युरोपको एक तिहाइ जनसङ्ख्यालाई कालको मुखमा धकेल्यो । मध्यपूर्वका देश र अफ्रिकामा लाखौँ मानिस प्लेगबाट मरे । 

चौधौँ शताब्दीकाे प्लेग कसरी रोकियो भन्ने स्पष्ट जानकारी अहिले पनि भेटिएको छैन । तर पाँच सय वर्षपछि सन् १८५५ मा फेरि पनि प्लेगको महामारी चीनबाटै सुरु भयो र संसारभर फैलियो । उन्नाइसौँ शताब्दीमा आएको प्लेगको महामारीले भारतमा मात्रै एक करोड २० लाख मानिसको प्राण लियो । भारतको मुम्बईमा महामारीले लाखौँ मानिस मरेपछि रोग फैलिन नदिन वरपरका गाउँहरु आगो लगाएर नष्ट गरिएका थिए । त्यसपछि यो महामारी आफै शिथिल हुँदै गयो ।

तर प्लेग सधैँका लागि अन्त्य भएको छैन, कमजोर मात्र भएकाे छ । प्लेग कसरी थामियो भन्ने कुरामा अध्येताहरुका बीच अलग–अलग मत छन् । एक थरि भन्छन्– काला रङ्गका मुसाहरु खैरा भएपछि प्लेग आफै कमजोर भयो । अर्कोथरि मुम्बई वरपरका गाउँ जलाएपछि यो कमजोर भयो भन्ने मत राख्छन् र केही अध्येताहरु प्लेगलाई मानिसमा विकसित भएको रोग प्रतिरोधी क्षमताले जितेको तर्क गर्छन् । 

प्लेगसँगै त्यसको अघि र पछि पनि यो संसारमा अनेक महामारी फैलिए । सय वर्षअघि फैलिएको स्पेनिस फ्लुमा परेर संसारमा पाँच करोडदेखि १० करोडसम्म मानिस मरेको इतिहास भेटिन्छ । सन् १९१८ मा संसार पहिलो विश्व यद्धकाे उत्कर्षमा थियो । तर गोलीले भन्दा महामारीले धेरै सिपाही मर्न थालेपछि पहिलो विश्व युद्धमा जाने सिपाही भएनन् । फलतः स्पेनिस फ्लु महामारी पहिलो विश्व युद्ध रोक्ने एउटा मुख्य कारण बन्न पुग्यो । विश्व युद्धकाे समाप्तिपछि पनि स्पेनिस फ्लुले मानिसलाई आजसम्म सताइरहेकै छ तर अब यो महामारीको रुपमा छैन । हामीलाई लाग्ने रुघाखोकीका रुपमा बर्सेनि आइरहन्छ । 

बितेको सय वर्षमा पनि एक दर्जनभन्दा धेरै महामारी फैलिएका छन् र ती कुनै पनि महामारी बिफर जसरी औषधिले उन्मूलन भएका छैनन् तर सबै रोग स्वास्थ विज्ञानको नियन्त्रणमा छन् । अहिलेको कोरोना जस्तै महामारीका रुपमा फैलिएको हङकङ फ्लु, सार्स, मर्स सबै रोगका भाइरस यो संसारमा जीवित छन् । श्वासप्रश्वास बाहेकका झाडापखाला, हैजा, एचआईभी, औलो, डेङ्गी जस्ता यो शताब्दीमा चलेका महामारीमा परि मर्नेको सङ्ख्या पनि अर्बकाे छेउछाउ पुगेको छ ।   

यी सबै रोगका किटाणु र जीवाणु मानिसको शरीरमा आज पनि छन् तर कुनै बेला महामारी मानिएका यी रोगहरु आज जीवित भए पनि खोप, औषधि र आनीबानीका कारण मान्छेको नियन्त्रणमै छन् । इतिहासका अध्येताहरु यी धेरै महामारी कसरी रोकिए भन्ने प्रश्नको जवाफ खोज्दा एउटै मतमा पुगेका छन् । त्यो मत हो, यी महामारीको अन्त्य मानिसको मनबाट डरको अन्त्यसँगै भएको छ । 

रोगभन्दा ठूलो त्रासको महामारी 

महामारीले बिरामी पार्नुअघि महामारीको त्रासले मानिसलाई थला पार्छ । इबोला र अहिलेको कोरोना यसका ज्वलन्त उदाहरण हुन् । सन् २०१४ मा इबोलाका कारण दक्षिण अफ्रिकामा ११ हजार मानिस मर्दा पनि विश्व स्वास्थ सङ्गठनले इबोलालाई महामारी भनेर घोषणा गरेको थिएन तर त्रास संसारभर फैलिसकेको थियो । इबोला महामारीको घोषणा हुनासाथ युरोपमा महामारीको त्रास डढेलो जसरी फैलियो । काला जातिका मानिस बिरामी भएर अस्पताल जाँदा डाक्टर र नर्सहरु इबाेला लाग्ला भनेर परपरै तर्कन्थे । अथवा युरोपमा इबाेला रोग पुगेको थिएन तर त्रास फैलिसकेको थियो । 

अहिलेको कोरोनाका सन्दर्भमा त्रासको महामारीको यही उदाहरण लागू हुन्छ । चीनको वुहानबाट सुरु भएका कारण नेपालमा पहिले पहिले चिनियाँ नागरिक देख्दासमेत मानिस तर्सन्थे । युरोपमा कोरोना फैलिएका बेला फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालमा लकडाउन नै सुरु भयो ।   

विदेशबाट र भारतबाट घर फर्केका नेपालीलाई कोरोना सङ्क्रमणको बिउ ठानियो । उनीहरुलाई आफ्नै घर, छिमेक र समाजले हेँलाहोचो, अपमान र दुर्व्यवहार गर्‍यो । बाहिरियाहरुले रोग सार्छन् भनेर लकडाउनका बेला टोलमा पस्ने बाटाहरु बन्द गरिए, काठमाण्डाै पस्ने नाकामा र अस्पतालमा काम गर्ने स्वास्थकर्मीहरु अपमानित भए । आफ्नै छिमेकीसमेत शत्रु र आफन्तसमेत टाढाका मान्छे ठानिए । अथवा कोरोना महामारीको लक्षणभन्दा धेरै छिटो महामारीको डर फैलियो । तर अहिले त्यो डर कम हुँदै गएको छ । कोभिड १९ का खोप र औषधिका उपायहरुमा तीव्र काम भइरहेका छन् । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा इतिहासका अध्येताहरु भन्न थालेका छन्, यो महामारीको अन्त्य पनि मनको डर सकिएपछि हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP