काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका श्रमिकहरुको उद्धारलाई तिव्रता दिन सरकारसँग माग गर्नुभएको छ।
कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेको नेपाली नागरिकहरुको उद्धार तथा आर्थिक समस्यामा परेका श्रमिक, गर्भवती तथा बिरामीहरुलाई निःशुल्क स्वदेश ल्याउने व्यवस्था मिलाउन सांसद संग्रौलाको माग छ।
मंगलबार (आज) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाउँदै उहाँले त्यस्तो माग अघि सार्नुभएको हो। प्रमुख विपक्षी कांग्रेसले गठन गरेको छायाँ सरकारको छायाँ श्रम मन्त्री समते रहनुभएका सांसद संग्रौलाले नेपाली श्रमिकहरुको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको लागि समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
ज्ञापन पत्रको पूर्णपाठ
माननीय रामेश्वर राय यादव ज्यू,
मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
विषयः ज्ञापनपत्र
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक नराम्ररी प्रभावित भएको यहाँलाई अवगतै छ । उनीहरुको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको लागि माग गर्दै मैले गत १४ वैशाख २०७७ गते ज्ञापनपत्र बुझाएको स्मरण गर्न चाहन्छु। ढिलै भए पनि सरकारले हालै भारत बाहेक तेश्रो मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काम शुरु गरेको छ। तर अझै दशौँ हजार नेपालीहरु विदेशमा अलपत्र अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई जति सक्दो चाँडो स्वदेश फिर्ता ल्याउनका लागि निम्न अनुसारका कामहरु गर्न आवश्यक भएकाले फेरी यो ज्ञापनपत्र बुझाउँदै छु।
१) कोभिड– १९ को कारण रोजगारी गुमाएका, विदामा बसेका वा विभिन्न समस्यामा परेका कामदारलाई स्वदेश ल्याउनको लागि तत्काल नेपाल सरकारले पहल गर्नुपर्छ । सर्बप्रथम जुन देशमा नेपाली कामदार छन्, तिनै देशको सरकार, कामदार कार्यरत कम्पनीलाई टिकटको व्यवस्था गर्न लगाई निःशुल्क रुपमा नेपाल ल्याउन लगाउनुपर्छ । यदि, त्यो सम्भव नभएमा र आफ्नै खर्चमा स्वदेशमा आउन नसक्ने कामदारहरुको लागि सरकारले नै उद्धार गर्नुपर्छ । आफ्नै खर्चमा आउन सक्नेहरुको लागि सरकारले नियमित उडानको व्यवस्था गर्नुपर्छ । चार्टर फ्लाईटको नाममा सरकारले व्यापार गर्नुहुँदैन।
२) उद्धार नहुने बेलासम्म विदेशमा रहेका कामदारको लागि खाने, बस्ने व्यवस्था त्यही देशले गर्नुपर्छ । उनीहरुलाई त्यो व्यवस्था भए–नभएको बुझेर नभएको खण्डमा तत्काल सम्बन्धित देशका नेपाली दूतावासलाई पहल गर्न लगाइयोस् ।
३) कोभिड–१९ को कारण विरामी परेका, क्वारेन्टीन, आईसोलेसन, अस्पतालमा रहेका कामदारको निशुल्क औषधी उपचारको व्यवस्था सम्बन्धित देशलाई गर्न लगाउनुपर्छ र त्यो भए(नभएको जानकारी नेपाली दूतावासहरुले लिईरहने व्यवस्था मिलाइयोस् ।
४) विदेशमा कोभिड– १९ को कारण मृत्यु भएका कामदारको दाहसंस्कारको व्यवस्था मिलाउन र त्यसमा परिवार वा आफन्तको उपस्थिती कसरी सम्भव हुन्छ, व्यवस्था मिलाइयोस् ।
५) कोभिड–१९ को कारण बाहेक अन्य कारणले मृत्यु भएका कामदारको हकमा शव तत्काल स्वदेश ल्याउन व्यवस्था मिलाउनुपर्छ । परिवारको स्वीकृतिमा विदेशमै दाहसंस्कार गर्ने अनुमति भएका शबको विदेशमै रहेका आफन्तको रोहवरमा दाहसंस्कार गरी परिवारलाई तत्काल जानकारी गराइयोस् ।
६) विदेशमा कोभिड– १९ को कारण बाहेक अन्य विरामी, घाईते, गर्भवती, सुत्केरी लगायतका कामदारको तत्काल उपचारको व्यवस्था मिलाइयोस् ।
७) कोभिड–१९ को कारण स्वदेश फर्किन खोजेका नेपाली विद्यार्थी, विभिन्न पेशामा आवद्ध पेशाकर्मी, व्यवसायी, विरामी, पर्यटकहरुलाई सहज वातावरण बनाइयोस् ।
८) कोभिड – १९ को कारण लामो समयसम्म देश–विदेमा भएको लकडाउन, अन्तर्राष्ट्रिय उडाउनमा रोक, रोजगारी गुमेको चिन्ता, पारिवारिक विछोड जस्ता कारणबाट मानसिक समस्यामा परेका कामदार तथा नेपालमा रहेका तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाइयोस् ।
९) रोजगारदाता कम्पनिले व्यवस्था गरिदिएको टिकट भएका नेपाली हरुका हकमा वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरुमा नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने र भाडादर पनि कम हुने भएकाले सिमित संख्यामा मात्रै भएपनी नियमित उडान सञ्चालन गरियोस् ।
१०) विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्च विहीन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्धार गरियोस् ।
११) क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरुमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्धार उडानको व्यवस्था गरियोस्।
१२) पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरुबाट सम्बन्धित देशका FIT TO FLIGHT सर्टिफिकेट अनुसार फिर्ता आउने व्यवस्था गरियोस् ।
१३) बिना इजाजत श्रम गरिरहेका (Undocumented Migrants workers)कामदारहरुलाई सम्बन्धित देशको कुटनीतिक निकायसँग सहकार्य गरि आम माफी दिलाउने प्रबन्ध गरियोस् ।
१४) हाल नेपालमा छुट्टीमा रहेका कामदारहरुलाई वैदेशिक रोजगारका लागि फिर्ता जान श्रम स्वीकृति तथा अन्य कागजत् विना झन्झट उपलब्ध गर उने व्यवस्था गरियोस् ।
१५) परराष्ट्र, गृह, श्रम, रक्षा, अर्थ लगायतका मन्त्रालयहरुसंग समन्वय गरी स्वदेश फर्कन चाहने नेपालीहरुका लागि निशुल्क २४ घन्टे हटलाइन सूचना सेवा तथा नेपाल आइ सके पछि स्वास्थ्य जांच गरी सम्भव भएसम्म आआफ्नो घरमै क्वारेंटाइनमा बस्ने व्यवस्था मिलाइयोस्।
१६) नेपाल सरकारले १७ महिनासम्म मलेसिया नेपाली कामदार पठाउन रोक लगाएको र कोभिड–१९ को कारणले फागुन २८ गतेदेखि श्रम स्वीकृति दिन बन्द गरिएकोले वैदेशिक रोजगार व्यवसायीहरुले कामदार पठाउन नपाएको हुँदा अनुमतिपत्र नवीकरणका लागि वार्षिक १०० जना कामदार पठाउनै पर्ने वाध्यात्मक व्यबस्थाले नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत पत्र नविकरण नहुने अवस्था सिर्जना भएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशीक रोजगारी व्यवसायीको इजाजत पत्र नविकरण गर्ने व्यवस्था मिलाइयोस् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया