काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका नेताहरुलाई दिएको प्रशिक्षण के थियो र कस्तो भयो भन्ने देखिन थालेको बताएका छन ।
गणेशमान सिंह तथा शहिद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा सिटौलाले चिनियाँ राष्ट्रपतिको भ्रमण र त्यसपछि नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई दिइएको प्रशिक्षणपछि मुलुकको आन्तरिक र बाह्य अवस्था बिग्रदै गएको बताए ।
‘चिनियाँ राष्ट्रपति नेपाल आएर फर्किएपछि नेकपाका नेताहरुलाई भएको प्रशिक्षण कस्तो भयो भन्ने अहिलेको अवस्थाले देखाउँदै छ, सरकार चिनियाँ शैलीमा पुरै राज्य सत्ता क्याप्चर गर्ने शैलीमा हिड्दै छ, नेपालको बाह्य अवस्था र आन्तरिक अवस्था दुबै कमजोर अवस्थामा पुग्यो,’ सिटौलाले भने ।
सिटौलाले नेकपामा देखिएको सत्ताको झगडा मिलाउँन चिनियाँ पक्षबाट भइरहेको दौडधुपले समेत त्यो देखाएको बताए । ‘प्रशिक्षण त भयो, कताकता डगमगाउँछन कि भनेर बेला बेला दौडधुप पनि भइरहेकै छ, सत्ताको झगडा मिलाउँन खुल्लमखुल्ला चिन खुलिरहेकै छ, सत्ता पक्षका नेतासँग हाम्रो नि राम्रो सम्वन्ध छ, के के भयो भन्ने त भन्छन नि,’ सिटौलाले थपे ।
उनले छिमेकी मुलुकहरुसँगको सम्वन्ध सन्तुलित हुनु पर्नेमा त्यसो हुन नसकेको र सम्वन्ध बिग्रदै गएकाले नेपाल असंलग्न नीति छाडेर कुनै एक छिमेकी मुलुकतर्फ ढल्कन नहुनेतर्फ जोड दिए ।
सिटौलाले सरकार पुरै राज्य संयन्त्रलाई क्याप्चर गर्ने दिशाबाट अघि बढिरहेको समेत बताए । ‘प्रधानन्यायाधिशलाई बोलाएर यसो गर भन्ने, लोकसेवाका प्रमुखलाई बोलाएर यसो गर भन्ने, तर्साउँने, संवैधानिक व्यवस्थालाई कमजोर बनाएर पुरै राज्य क्याप्चर गर्न खोज्ने, संविधानलाई कमजोर बनाउँने ?,’ सिटौलाले भने ।
सिटौलाले कांग्रेसलाई सरकारमा जान हतारो नभएको भन्दै प्रतिपक्षमा नै बसेर आगामी निर्वाचनम भाग लिने समेत स्पष्ट पारे । ‘कांग्रेस सत्तामा जान्छ कि भन्ने कतिलाई लागेको होला, कांग्रेसलाई त्यो हतारो छैन, आगामी निर्वाचनमा कांग्रेस प्रतिपक्षमा नै बसेर सहभागी हुन्छ ।’ उनले कांग्रेसको नीति तथा सिद्धान्त यहि कायम राख्ने कि बदल्ने भन्नेमा भने बहस आवश्यक भएको बताए ।
जनताले कम्युनिष्टको विकल्प खोजेको भन्दै त्यो विकल्प कांग्रेस हुने वा नहुने भने अबको कांग्रेसको बाटोले देखाउँने उनको भनाइ छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता भीमसेनदास प्रधानले आगामी महधिवेशनपछि कांग्रेस कस्तो बन्ने भन्ने कांग्रेसकै हातमा रहेको बताए ।
कार्यक्रममका वक्ता तिर्थराम डंगोलले कांग्रेसमाा विगतदेखि नै परिवारबाद हावी भएका कारण कांग्रेसको छवी खस्कदै गएको बताए । प्राध्यापक कपिल श्रेष्ठले चिनले नेपाललाई तिव्वत बनाउँने दिशाबाट अघि बढिरहेको भन्दै कांग्रेसले शशक्त भूमिका देखाउनु पर्ने बताए । लेखक श्रीकृष्ण अनिरुद्र गौतमले कांग्रेसको नेतृत्व जस्तै पार्टी भएकाले नेतृत्व नबदलेसम्म पार्टी नबदनिेने बताए ।
वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले कांग्रेससँग द्धिता, विज्ञता भएर पनि धारणाको अभाव देखिएको बताए । अर्का वरिष्ठ पत्रकार सुरेश आचार्यले समाजिक संजालबाट कांग्रेसले धरणा बनाउँन थालेको बताए ।
यसैगरी अर्का पत्रकार सुदर्शन अचार्यले कांग्रेस सत्ताको मोहबाट पछि हट्न नसकेका कारण झन कमजोर बन्दै गएको बताए । अर्का पत्रकार तथ प्राध्यापक जगत नेपालले विगतका दिनमा धारण र एजेण्डा दिने कांग्रेस अहिले प्रतिक्रियमा मत्रै सिमित देखिन थालेको बताए ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले मुलुकमा विदेशी गतिविधि बढिरहेको तर कांग्रेसले त्यसलाई नजरअन्दाज गरेर बसिरहेको बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया