Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जताततै गाईजात्रा : कुर्सीको बिजोग, कोरोनाको जोक !

काठमाण्डौ – एउटा टारमा ओली जात्रा ! अर्को टारमा दाहाल जात्रा ! समग्र नेकपामा कुर्सी जात्रा ! कांग्रेसमा घुर्की जात्रा ! सडकमा कोरोना जात्रा ! खेतबारीमा सलह जात्रा ! लेकमा पहिरो जात्रा ! बेसीमा बाढी जात्रा ! न्यायालयमा श्रीमान जात्रा ! प्रहरीमा सुन जात्रा ! यतै जात्रा, उतै जात्रा । जात्रैजात्रामा आयो, यस वर्षको गाईजात्रा । 

गाईजात्रा पहिले पहिले कलाकारले देखाउँथे, नेताले हेर्थे ! तर जमाना फेरिएपछि नेताले जात्रा देखाउन थाले, कलाकार रमिते भएका छन् । 

मौका पाए गाईजात्रा नआउँदै नेता र जनताले त जात्रा देखाउने नै भए । त्यसैले देशमा अहिले अनेक जात्रा चल्दैछन्, रोग जात्रा, भोक जात्रा, शोक जात्रा । कतै आँसु जात्रा, कतै हाँसो जात्रा । चर्चा गरौँ यसपालिका केही जात्रा ।

नेकपामा पाइलट जात्रा

नानीदेखि नै मिल्ने बानी नभएका दुई वामलाई चुनावको बेला एक ठाममा आउनुपर्ने बाध्यता थियो । पहिले एक्लाएक्लै हिँड्दा कुर्सी नभेटिएला भन्ने डर, अहिले सँगसँगै हिँड्दा कुर्सी नपुग्ला भन्ने डर । 

पछि बस्ने कुर्सी जेसुकै होस्, पहिले सत्ताको कुर्सी चाहिँ जोगाउँ भन्ने लागेर चुनावताका दुई वाम एक ठाममा उभिए । दिमागले भ्याएसम्मका सपना र आश्वासन बाँडे । के के न होला भनेर नागरिकले भोट दिए । एक ठाम भएका दुई वाम सत्तामा पुगे ।

पार्टी हाँक्ने कुर्सीमा अटाइनअटाइ भए पनि दुईजना पाइलट मिलेर बस्नै पर्ने बाध्यता थियो । तर सरकार हाँक्ने कुर्सीमा दुई जना पाइलट अटाउने व्यवस्था थिएन । मिल्ने भए गाई कि त्रिशूल गर्न हुन्थ्यो । तर त्यसो गर्न अहिले गाई र त्रिशूल भएको पाँच पैसाको ढ्याक पाइँदैन ।

त्यसैले एउटा पार्टीको दुईटा कुर्सीमा बसेका दुईजना पाइलटहरुले सरकारको कुर्सीमा चाहिँ सँगै बस्ने मौका पाएनन् । चुनाव सकिनासाथ विजय जात्रा चल्यो । त्यो बेला सरकारको कुर्सीमा बस्न लागेका ओली आज हुन् कि भोलि थियो । ओलीपछि सरकार र पार्टी मेरै झोली भन्ने जपेर प्रचण्ड दिन पर्खेर बसे । 

आलोपालोको कुरा पनि बिर्सिए । तर ओली आजकै भोलि होइन, नयाँ मिर्गौला सहित वर्षौवर्षको भोलिसम्म कुर्सीमा रहने देखेपछि नयाँ जात्रा सुरु भयो । अबको पाँच वर्ष त के, अर्को पाँच वर्ष पनि ओलीले नै खालान् भन्ने डर बढ्यो । त्यसपछि अर्का पाइलटलाई छटपटी भयो । पाइलटसँगै कोपाइलटहरुलाई पनि उकुसमुकुस हुन थाल्यो । कसैलाई दोहोरिन नपाइएला भन्ने चिन्ता । कसैलाई एकपटक पनि बस्न नपाइएला भन्ने छटपटी । 

त्यसपछि पाइलट र कोपाइलटहरुबीच मारमुङ्ग्री सुरु भयो । उडिरहेको जहाज खसे पनि खसोस्, पाइलट बस्ने कुर्सीमा मै बस्छु भन्ने हानथाप चल्यो । कहिले यो उसको खेमामा, कहिले उ यसको खेमामाको रमिता चल्यो । दिनदिनै फेरिरहन्छ गुट । तर न फुट, न जुट । न सकिएको छ पाइलटको झगडा, न टरेको छ जहाज दुर्घटना । 

कांग्रेसमा दाइजात्रा

देउवालाई सधैं दाइ हुनु छ । भाइ भएर बस्न सुहाउँदैन । पौडेल कहिलेसम्म भाइ मात्रै भएर बसिरहने, दाइ हुन सकिँदैन । दाइ भाइ हुन नखोज्ने, भाइ दाइ हुन नसक्ने । दाइले पार्टीमा दाईं गरिरहने, भाइ चाहिँ सधैं भुसुनोजस्तो भएर बसिरहन पर्ने ? यो हुनै नसक्ने नमिल्ने कुरा ।

त्यसमाथि कम्युनिष्टहरुले मात्रै झगडा गर्नुपर्छ भन्ने के छ ? उनीहरुले मात्रै गाईजात्रा देखाउन पाउनुपर्छ भनेर कहाँ लेखिएको छ ? झैझगडा र गाईजात्रा त सबैको साझा प्रवृत्ति र संस्कार हो । त्यसमाथि कांग्रेस होस् या कम्युनिष्ट, झैझगडा र विवाद त खान्दानी परम्परा हो । 

यस्ता परम्पराको जगेर्ना गर्नुपर्छ । त्यसैले अहिले कांग्रेसमा देउवा र पौडेल पार्टीको इतिहास र संस्कार जोगाउन लागेका छन् । नेकपाको हाराहारीमा पुग्नेगरी सानेपा, बुढानिलकण्ठ र बोहोराटारमा मच्चिरहेका छन् । 

देउवालाई पौडेलले खुट्टा तान्लान् भन्ने डर छ । पौडेललाई देउवाले खुट्टाले हानिरहलान् भन्ने डर छ । त्यसैले दुवै पक्ष एउटाले अर्कोको खुट्टै भाँच्न तम्सिएका छन् ।

अदालतमा श्रीमान जात्रा

श्रीमान् भनेका श्रीमान् । कसैले मान्दिनँ भने पनि मान्नै पर्ने । नजाने पनि जान्नैपर्ने । उनीहरुको चित्तमा बेलाबेला पित्त मिसिन्छ । चित्तमा पित्त मिसिएपछि हुने, चित्तबाट फुत्त फुत्त पित्त निस्कन्छ । श्रीमानहरु बेलाबेला चाहिनेभन्दा बढ्दा जान्ने छु भन्ने देखाउन खोज्छन् ।

समाजलाई नपच्ने कुरा बलजफती निकाल्छन् । श्रीमानहरुलाई लाग्छ, जालझेल गर्ने मान्छेहरु जेलमा धेरै बसे पनि जेल नै कुरुप हुन्छ । जेलको शोभा बिग्रन्छ । अपवित्र हुन्छ । त्यसैले जेलको रुप फेर्न र पवित्र बनाउन हत्यारा र अपराधीहरु जेलमा होइन, बाहिर बस्नुपर्छ भन्ने कुरा चित्तमा लागेर आदेश नामको कागजमा त्यो कुरा पित्त पित्त झर्छ । 

श्रीमानहरुको चित्तमा बेलाबेला यस्तो लागेपछि न्यायालयमा पनि जात्रा हुन्छ । अहिले भैरहेको यही हो ।

प्रहरीमा सुन जात्रा

चोरले लगेको भए लगेकोलग्यै हुन्थ्यो । कसैलाई वास्ता हुँदैन थियो । प्रहरीले बल्लतल्ल चोर समात्छ, चोरको हातबाट सुन फुत्काउँछ । चोरबाट सुन फुत्काउने प्रहरीलाई सुनकै माला लगाइदिनुपर्ने हो । तर फूलको माला लगाउन पनि कञ्जुस्याइँ गर्छन् । सुन समातिस् भनेर सुनपानीले पनि छर्कन खोज्दैनन् । 

कसैले वास्ता नगरेपछि त आफैंले भने पनि गर्नुपर्यो । त्यसैले सुन समातेपछि प्रहरीले आफ्नो पनि भाग राख्छन् । सुनको भाग लगाएको कुरा कहिले सबैले थाहा पाउँछन्, कहिले कसैले सुईंको पाउँदैनन् । पहिले ३३ किलोको कुरो आयो, अहिले सुन तस्कर भगाएको कुरा । 

त्यसमाथि प्रहरीको छडी जादुको छडीजस्तै हो, छोएपछि सुन पनि पहेलो पित्तल बन्छ । प्रहरीमा सुन जात्रा बेला बेला भैरहन्छ । सुनको कुरा हुँदा प्रहरीले सुन्छ, सुनको कुरा धेरै गरे सुनको कुरा गर्ने जोसुकै होस्, त्यस्ता कुरौटेलाई थुन्छ । त्यसैले सुनजात्राको कुरा धेरै नसुनाऔँ ।

कोरोना जात्रा

कांग्रेस र कम्युनिष्टलाई पार्टी फुट्ला, नागरिकले गाली गर्लान् भन्ने डर छैन । न्यायालय र प्रहरीलाई न्याय, निसाफ र नियमको डर छैन । ठूलाबडालाई केही कुराको नि डर नभएपछि ठूलाबडा बस्ने कुर्सीको बिजोग भएको छ । आफ्नो इज्जत गयो भन्ने कुर्सीलाई लागेको छ । तै पनि कुर्सी निरीह छ, केही गर्न सक्दैन ।

नेता बस्नेदेखि न्याय पाउने ठाउँसम्मका कुर्सीको बिजोग भैरहदा कोरोना चाहिँ जोकजस्तो हुन थालेको छ । किनकि नेपालीले अब कोरोनालाई जोकजस्तै ठान्न थाले । बहादुर नेपालीलाई केहीको डर लाग्न छाडिसक्यो । कोरोनाको डर पचिसक्यो । उल्टै नेपालीको पारा देखेर चाहिँ कोरोना डराएको छ ।

लकडाउनभरि नेपालीले कोरोनालाई घरभित्र पस्नै दिएनन् । बेसारपानी र झारबुटीले नै तर्साए, भगाए । अब चाहिँ सरकारले नै लकडाउन हटाएर कोरोनालाई जताततै पासो थापेको छ । अब कोरोनालाई सडकमा गए पनि डर छ, सरकारी कार्यालयमा गए पनि डर छ ।

सडकमा पहिलेजस्तै गरी ठेलम्ठेल भएर गाडी र मान्छेको ताँती लाग्न थालेको छ । सडकको बीचबाट हिँड्दा कोरोनालाई गाडीले ठक्कर दिने डर, फुटपाथबाट हिँड्दा मान्छेले कुल्चने डर ! सार्वजनिक बसभित्र चढ्दा पनि यात्रुको घुइँचोमा थिचिने डर !

यातायात, मालपोत लगायतका सरकारी कार्यालयमा जाँदा पनि अवस्था उस्तै ! जताततै भीडभाड, होहल्ला, चहलपहल ! मान्छेको ठेलम्ठेलमै परेर आफै मरिएला भन्ने डर बढेपछि कोरोना अहिले बरु आफै आत्महत्या गर्ने कि भन्ने चिन्तन पो गर्न थालेको छ । सुरुसुरुमा कोरोनाको डरले मान्छेले आत्महत्या गरे, अहिले मान्छेसित डराएर कोरोनाले आत्महत्याको बाटो रोजेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP