Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

तरकारीको भाउ बढेको बढ्यै

काठमाण्डौ – कीर्तिपुर बस्ने राजेश थारुको भान्सामा हिजोआज हरियो तरकारी कम मात्रै पाक्छ । उहाँले हरियो तरकारीको सट्टामा गेडागुडीको प्रयोग गर्न थाल्नुभएको छ । 

पहिला दुई थरी तरकारी पकाउने थारुले, अहिले एकथरी गेडागुडीले टार्दै आउनुभएको छ । उहाँको भान्सामा हरियो तरकारी २/३ दिनमा एक छाक मात्रै पाक्छ ।

उहाँको तीन जनाको परिवार छ । तीन जनाको परिवारले नियमित हरियो तरकारी खाने हो भने दिनमा सय रुपैयाँले पनि पुग्दैन । त्यही भएर उहाँले विकल्पमा गेडागुडीको प्रयोग गर्न थाल्नुभएको हो । 

थारु भन्नुहुन्छ ‘तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगो भयो ।’  

अहिले बन्दा, घिरौँला, मूला, फर्सी, चिचिन्डो लगायतका सबैजसो हरियो तरकारीको भाउ छोइसक्नु छैन । यस्तै हुने हो भने भाडामा बस्ने र कम आम्दानी हुने त कसरी टिक्नु ? तरकारीको भाउ बढ्दा राजेशजस्तै धेरै उपभोक्ता चिन्तामा छन् ।

सबै तरकारीको भाउ बढ्यो

बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ ।  सबैको भान्सामा प्रयोग हुने रातो आलु गएको हप्तासम्म प्रतिकिलो औसत मूल्य ४८ मा बिक्री हुने गरेको थियो । तर अहिले त्यसको भाउ  बढेर ६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै किलोको ४८ रुपैयाँमा बिक्री हुने मुडेको आलुको भाउ ५६ रुपैयाँ पुगेको छ । प्रायः सबैले तरकारीमा प्रयोग गर्ने सानो गोलभेँडाको भाउ पनि सामान्य अवस्थामा भन्दा निकै बढेको छ । किलोमा औसतमा २५ देखि ३० रुपैयाँमा पाइने सानो गोलभेँडा अहिले ४५ देखि ५० रुपैयाँसम्म पुगेको छ ।

यस्तै गएको हप्तासम्म ३० देखि ३५ रुपैयाँसम्ममा पाइने ठूलो गोलभेँडा अहिले किलोमा औषतमा ६५ देखि ७० रुपैयाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातमा पनि धेरै नै मात्रामा भाउ बढेको छ । 

आयात र उत्पादनमा कमीका कारण भाउ घट्यो 

तरकारीको आयात र उत्पादनमा कमी आएकाले भाउ घट्न नसकेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार कालीमाटीमा सामान्य अवस्था दैनिक ७ देखि ९ सय टन तरकारी भित्रने गरेकोमा अहिले ४ देखि ५ सय टन मात्रै भित्रने गरेको छ ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनपछि भारतबाट आउने तरकारीमध्ये एक चौथाई तरकारी मात्र नेपाल भित्रने गरेको छ । पहिले नेपाली बजारमा आधा तरकारी भारतबाट आयात हुने गरेको थियो । 

नेपालमा वर्षातको समयमा उत्पादन कम नै हुने गरेको थियो । तर यसपटक भने कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएको हो । लकडाउन खुलेपछि बाढी र पहिरोका कारण धेरै तरकारी नोक्सानी भएको उहाँ बताउनुहुन्छ । 

लकडाउन अघि ठूलो जनसंख्या उपत्यका बाहिर गएको र लकडाउन खुलेसँगै आउने क्रम जारी भएकाले माग बढ्दै गएको  र आपूर्ति घट्दै गएकाले तत्काल भाउ घट्ने सम्भावना नभएको उहाँको भनाइ छ ।

बिस्तारै होटल तथा व्यवसाय पनि सुरु हुने क्रममा भएकाले भाउ अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ । कोरोना तथा बाढी पहिरोको प्रभावका कारण तरकारीको भाउमा केही प्रभाव परे पनि  भाउ बढ्नु हरेक वर्षको समस्या भएकाले यसको समाधान नगरे दीर्घकालीन रुपमा असर पर्ने उहाँको भनाइ छ ।

बिचौलिया सधैँकाे समस्या

तरकारी महङ्गो हुनुको विभिन्न कारणमध्ये बिचौलिया हावी हुनु पनि एक मुख्य कारण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरीबहादुर केसी बताउनुहुन्छ ।

बाढी , पहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हावी हुनु सधैँको समस्या भएको उहाँको भनाइ छ । 

किसानलाई खेतबारीमा उब्जाएको तरकारी बजारसम्म पुर्‍याउनै गाह्रो छ । तरकारी किन्न खेतसम्म थोक व्यापारी गए पनि उब्जनीको थोरै कम मात्रै मूल्य पाउने समस्या छ ।

एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको उहाँले बताउनुभयो । 

‘तत्काल अनुगमन हुन्छ’ 

उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्य तरकारीको भाउ बढेको गुनासो बढिरहेकाले तत्काल अनुगमन गर्ने बताउनुहुन्छ । 

केही दिन पहिले मात्रै पनि आफूले कालीमाटीमा अनुगमन गर्दा तोकिएको भाउ भन्दा केही बढी लिएर व्यापारीले बेचेको पाएको बताउनुभयो । केही तरकारीको नमुनाको रुपमा अनुगमन गर्दा किलोमा १५ देखि २० रुपैयाँसम्म भाउ बढाएको पाइएको बताउनुभयो ।

आउँदो आइतबार छलफल गरेर तत्काल फेरि छापा मार्ने उहाँले बताउनुभयो । बाढी र पहिरोका कारण तरकारीको भाउ बढ्यो भन्नु बहाना मात्रै भएको उहाँको दाबी छ ।

‘फलफुलको भाउ नबढ्ने, तरकारीको भाउ मात्रै बढ्ने भन्ने हुँदैन’  उहाँ भन्नुहुन्छ, ‘बढ्ने भए फलफुलको पनि बढ्थ्यो ।’ 

अब तत्काल अनुगमन गर्ने र बढी मूल्य लिएर बेच्ने व्यापारीलाई कारबाही गरिने उहाँ बताउनुहुन्छ ।  विभिन्न कारण देखाएर लकडाउनकै समयदेखि दिन प्रतिदिन तरकारीको भाउ बढेको बढ्यै छ । विना कारण यसरी तरकारीमा मनलाग्दी भाउ बढाउँदा नागरिक मारमा परेका छन् । 

मानिसको आधारभूत आवश्यकता दुई छाक खाना र तरकारी खान पनि डराउनुपर्ने स्थिति सृजना हुनु दुःखद कुरा हो । यस्तो संकटको घडीमा गरिएको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्नु सरकारको मुख्य दायित्व हो र सुपथ मूल्यमा खाद्य वस्तु उपभोग गर्न पाउनु नागरिकको अधिकार हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP