Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हिउँमाथि पाक्ने खाना

बाक्लो हिउँ । हिउँमाथि टेन्ट । टेन्टभित्र ‘किचन’ । भोजपुरका बाबुराम भट्टराईले हिउँमाथि बनाइएको ‘किचन’मा खाना पकाएको १७ वर्ष भयो । हरेक वर्ष चैत महिना लागेपछि उहाँ हिमाल जानुहुन्छ र जेठको मध्यसम्म सगरमाथा आधार शिविरमै बस्नुुहुन्छ । उहाँले सन् २००३ देखि सगरमाथाको आधार शिविरमा खाना पकाउने काम गर्दै आउनुभएको छ । भट्टराईले सयौँ स्वदेशी/विदेशी आरोहीहरुलाई खाना पकाइसक्नुभएकाे छ । 

तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल हुन्छ । उभिने हिउँमाथि नै हो । आधार शिविरमा नयाँ अनुभव भएका धेरै हुन्छन् । नयाँलाई खानपानका बारेमा सचेत गराइरहनु पर्छ । अक्सिजन कमी हुने भएकोले तातोपानी पिइहनु पर्छ । चियाकफी, सुप लगायत झोलिलो खाना शरीलाई धेरै चाहिन्छ । आरोहीहरुलाई यिनै कुराको जानकारी गराउँदै भट्टराई खानेकुरा बाँडिरहनु हुन्छ । 

खाना पकाउने काम सुरु

२०४३ सालमा पर्यटकको भारी बोकेर उकालो लाग्नुभएका भट्टराईले चार वर्ष भारी बोक्नुभयो । भारीसँगै हिमालका फेद, पहाडका टाकुरा तथा लेकबेँसी गर्दागर्दै भट्टराईलाई भान्साको काम मन पर्‍यो । पकाउने, खुवाउने, खाने, पर्यटकसँग नजिक हुने जस्ता कारणले उहाँलाई भान्साको काम मन परेको हो । ‘कुकिङ’ सिक्नुभएको थिएन । विकल्प थियो ‘किचेन ब्वाइ’ । तरकारी केलाउने, भाँडा माझ्ने, किचन सफा गर्ने कामको सुरुवात २०४७ सालमा भयो । 

काम सिक्दै जानुभयो । पर्यटकहरु के रुचाउँछन् ? हिमालतिर गएपछि के खानुपर्छ ? के खानुहुँदैन जस्ता कुरा उहाँले ख्याल गर्नुभयो । काममा मेहनत गर्नुभयो । स्वभाव जिज्ञासु थियो, कुकसँग काम पनि सिक्दै गर्नुभयो । हेर्दै, सोध्दै, सहयोग गर्दै उहाँ विदेशीलाई मन पर्ने खाना पकाउन सक्ने ‘कुक’ बन्नुभयो । उहाँको शरीर पनि हिमालका फेदतिर काम गर्न अभ्यस्त भयो । 

२०५९ साल अर्थात् सन् २००३ देखि उहाँ हरेक वर्ष सगरमाथा आधार शिविरमा खाना पकाउन जानुहुन्छ । सगरमाथा आरोहण वैशाख/जेठ महिनामा हुन्छ । सगरमाथा आरोहीहरु आरोहणको तयारीका लागि झण्डै दुई महिना आधार शिविरमा बस्छन् । आरोही पुग्नुअघि गएर किचन तयार गर्ने र आरोही फर्केपछि किचनका सामान गोरप्सेकमा थन्क्याएर फर्कंदा भट्टराईको झण्डै तीन महिना बित्छ । 

हिमालमा दालभात र तातोपानी

आधार शिविरमा पनि धेरै पाक्ने खाना दालभात हो । दालभातले चिसोमा फाइदा पनि गर्छ । विदेशी पर्यटकले पनि आधार शिविरमा एक पटक चाहिँ दालभात नै खान्छन् । धेरैले दुई पटक पनि । हिउँमाथि बसेर दालभात, तरकारी, अचार, मासु मिलाएर खाँदा निकै गज्जब हुने पर्यटकहरु बताउँछन् । 

हिउँमाथिको किचनमा धेरै बसाल्नुपर्ने पानी हो । एक जनाले दिनमा झण्डै चार लिटर तातोपानी पिउँछन् । अक्सिजन कम हुने र चिसो धेरै हुने हुनाले तातोपानी बारम्बार पिउनुपर्छ । हिउँ पग्लेर निस्केको पानी तताउन धेरै समय लाग्छ । धेरै समय त हिउँ जम्ने भएकोले हिउँ नै तताएर पानी बनाउनुपर्छ । थर्मसमा भरिराखेको तातोपानी पर्यटक तथा अरु कर्मचारीहरुले इच्छाअनुसार पिउँछन् । भट्टराई सबैलाई भनिरहनु हुन्छ ‘तातोपानी धेरै पिउनुस् ।’ 

विदेशीहरुले माछामासु धेरै रुचाउँछन् । तरकारी पनि उत्तिकै खान्छन् । जसले हिमालमा तागत पनि दिन्छ । पिज्जा, बर्गर, चाउमिन, मःमः, लगायतका खानाका प्रकार पनि हिउँमाथिको किचनमा धेरै पाक्ने भट्टराई बताउनुहुन्छ । मासु आइसमा राखेर काठमाण्डौबाटै लगिन्छ । आधार शिविरमा हेलिप्याड बनाइ सकेपछि भने काठमाण्डौबाट ताजा मासु पनि ओसारिन्छ । हरियो तरकारी पनि हेलिकोप्टरबाट नै धेरै ओसारिन्छ । 

विदेशीहरुले रोटीका परिकार पनि मन पराउँछन् । चपाटी, पाउरोटी लगायतका बेकरीका धेरै परिकार पनि बनाउने गरेको भट्टराई बताउनु हुन्छ । हिमालमा तयार गरिएको किचनमा यी सबै प्रकारका खाना पकाउन मिल्ने भाँडाकुँडादेखि कच्चापदार्थ पनि लगिएको हुन्छ । डाइनिङ टेबलदेखि चाहिने आवश्यक सामग्री, भुइँमा काठसमेत ओछ्याएर न्यानो बनाउने लगायतका काम गरिने भएकोले पछिल्ला दिनमा आधार शिविरमा किचनहरु पनि निकै सुविधासम्पन्न हुन थालेकाे भट्टराई बताउनुहुन्छ । 

पहिले/पहिले स्टोभ बालेर सामान्य किचनमा काम गर्नुपरे पनि अहिले ग्याँसदेखि धेरै आधुनिक सामग्री पनि चलाउन पाइन्छ । 

हिउँमाथिको किचनका डाइनिङ टेबलमा बिस्कुट तथा चकलेट कहिल्यै टुट्दैन । विदेशीहरुले मन लागेजति खाइरहन्छन् । तातोपानी, चियाकफी तथा विभिन्न सुपहरु तयार गरेर राखिदिनु पर्छ । विदेशीहरुले खानेकुरामा कहिल्यै सम्झौता गर्दैनन् । सामान लैजाने बेलामा त्यसको उपभोग्य मिति, गुणस्तर लगायताका विषयमा ध्यान दिनपर्छ । नत्र विदेशीहरुले खाँदैनन् । त्यसैले काठमाण्डौमा खानेकुरा किन्दादेखि पकाउँदासम्म ख्याल गर्नुपर्छ । तरकारी, मासु लगायतका वस्तु नबिग्रिउन् भनेर हिउँमा खाल्डो खनेर गाडेर राख्ने गरिएको भट्टराई बताउनुहुन्छ । जसले फ्रिजको काम गर्छ । 

आधार शिविरभन्दा माथि ‘प्याकिङ’ खाना

सगरमाथामा आधार शिविरभन्दा माथि चारवटा शिविर छन् । पहिलो शिविरमा खाना पकाउने वातावारण मिल्दैन । त्यसैले त्यहाँको लागि खाना तयार गरेर पठाउनुपर्छ । पकाएर प्याक गरिदिएको खानेकुरा तलमाथि गरिररहने शेर्पाहरुले लगिदिन्छन् । बाटोका लागि पर्यटक आफैँले बोक्छन् । राति सामान्य ग्याँसबाट केही खानेकुरा तताएर पनि खाने व्यवस्था पहिलो शिविरमा गर्नुपर्छ । 

दोस्रो शिविरमा सामान्य किचन बनाइएको हुन्छ । आधार शिविरमा मुख्य किचन र भण्डारण हुन्छ भने दोस्राे शिविरमा सहायक किचन र केही दिनलाई पुग्ने खानाको भण्डारण पनि गरिन्छ । 

तेस्राे शिविरका लागि सामान्य पकाउनुपर्ने खानेकुरा दाेस्राे शिविरबाट र धेरैजसो आधार शिविरबाटै प्याक गरेर लगिन्छ । 

चौथो शिविरका लागि पनि तयारी खाना प्याक गरेर शेर्पाहरुले ओसार्छन् । चौथो शिविरभन्दा माथि लागेपछि भने चकलेटलगायत हलुका तर ‘क्यालोरी’ धेरै हुने खानेकुरा लगिन्छ । अक्सिजन प्रयोग गरेर जाने भएकोले धेरै खाना खाँदैनन् ।   

आफ्नो कम्पनीबाट जाने आरोहीहरुका लागि भट्टराई लगायत टोलीले बाटो र माथिल्ला शिविरका लागि छुट्टाछुट्टै पोका खाना तयार गरेर पठाउनु हुन्छ । आरोहीहरु तलमाथि गरिरहनुपरे पनि धेरै समय आधार शिविरमै रहने भएकोले धेरैजसो खाना आधार शिविरमै पकाइन्छ र खाइन्छ पनि । 

सामान्य ठाउँमा पकाउनुभन्दा हिमालको फेदमा खान पकाउनु निकै कठिन हुने भट्टराई बताउनुहुन्छ । भनेकै कुरा पाइँदैन । भएकैबाट व्यवस्थापन गर्नुपर्छ । भाँडा माझ्न चिसोले समस्या हुन्छ । खाना पकाउन धेरै समय लाग्छ । तातै खानेकुरा पकाएपछि चाँडै खानुपर्छ । हुन त पछिल्ला दिनमा तातो राख्न हटकेसहरु पनि लगिन्छ, तै पनि धेरै समय रहँदैन । 

फेरिरहन्छ आधार शिविर  

आधार शिविर अघिल्लो वर्षभन्दा फरक हुन्छ । खाल्डो भएको ठाउँमा हिउँको ढिस्को देखिन्छ । ढिस्को भएको ठाउँमा खाल्डो र समथर भएको हुन्छ । झरिरहने हिमपहिरो, हिउँ पग्लिने र थुप्रिन क्रम, हावाहुरीको अवस्थालगायत कारण ठाउँ नै फेरिएको हुन्छ । अघिल्लो सालको ठाउँ चिन्न समेत गाह्रो हुन्छ । पछिल्ला दिनमा फेरिने क्रम झनै बढेको भट्टराई बताउनुहुन्छ । आरोहणमा आइरहनेहरुले पनि आधार शिविरमा देखिएको परिवर्तन खतराको संकेत भएको बताउने गरेको भट्टराई बताउनुहुन्छ । 

कमाइ छ तर समस्या आउँदैछ  

भोजपुरबाट भारी बोक्न निस्किनु भएका भट्टराईले भारी बोकेर किचनमा काम गर्दै ५२ वर्षको उमेर पार गर्नुभयो । काठमाण्डौमा घर बनाउनुभयो । छोराछोरीको शिक्षादिक्षा । यी सबै हिमालफेदको कमाइले नै सम्भव भएको भट्टराई बताउनुहुन्छ । 

तर पछिल्ला दिनमा कम्पनीहरुले प्रतिस्पर्धाका कारण थोरै रकममा आरोहीको जिम्मा लिने गरेका कारण भट्टराई जस्ता कामदारहरुको पनि आम्दानी घट्दैछ । कम्पनीले थोरैमा जिम्मा लिए पनि किचनमा पनि थोरै पुग्छ । खाना पनि कमसल हुन्छ । पारिश्रमिक पनि घट्छ । अनि थोरै रकम तिरेर आउने पर्यटक कम आयस्राेत भएका हुन्छन् । उनीहरुले कुक लगायतका कामदारलाई टिप्सबापत दिने रकम पनि निकै थोरै हुन्छ । हिमालका कामदारको आम्दानीको ठूलो हिस्सा टिप्स तथा बक्सिस् हो । त्यही दिन लोभ गर्ने खालका पर्यटकलाई ल्याएपछि आम्दानी त घट्ने नै भयो । 

भट्टराई सुझाव दिनुहुन्छ, ‘हिमाल आरोहण गर्ने प्रति पर्यटक कम्पनीले लिने रकमको न्यूनतम अंक तोकिनुपर्छ, धेरै सुविधा दिएर धेरै रकम लिनेतर्फ जोड दिनुपर्छ, सङ्ख्या बढाउनका लागि कम खर्चमा ल्याउँदा फेक रेस्क्यू, हिमालमा ज्यान जाने लगायतका घटना हुनुको साथै आरोहण क्षेत्र नै बदनाम हुने भएकोले आरोहणलाई घटाघट भन्दा बढाबढको व्यवसाय बनाउनुपर्छ ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP